काठमाडौं, ३१ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका इजरायली बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमास समूहलाई चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले हमासले युद्धमा मानिसहरूलाई प्रयोग गरिरहेको भन्दै तीब्र आक्रोश व्यक्त गर्नुभएको अलजजिराले जनाएको छ ।
हिजो सामाजिक सञ्जाल मार्फत उहाँले हमासले गाजाको आक्रमण रोक्नका लागि इजरायली बन्धकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सारिरहेको भन्दै त्यसो गरे हमाससँगका सबै सर्तहरू समाप्त हुने समेत चेतावनी दिनुभयो । उहाँले सबै बन्धकहरूलाई तत्काल मुक्त गर्न पनि आग्रह गर्नुभएको छ ।
इजरायलले कतारमा हमासका नेताहरूमाथि गरेको आक्रमणपछि ट्रम्पको यो भनाइ आएको हो । यद्यपी अमेरिकी प्रस्तावमा भइरहेको बन्धक मुक्तिको वार्तामा संलग्न नेताहरूमाथि इजरायली आक्रमणको ट्रम्पले विरोध गर्नुभएको छ । आक्रमणमा पाँच जना हमास सदस्य र एक जना कतारी सुरक्षाकर्मीको ज्यान गएको थियो ।
पछिल्ला दिनमा इजरायलले गाजा सिटी खाली गर्न नागरिकहरूलाई बाध्य बनाइरहेको छ । त्यहाँ लगातार विद्यालय, अस्पताल र आवासीय भवनहरू लक्षित आक्रमणहरु भइरहेको छन् । संयुक्त राष्ट्रसंघले गाजामाथिको इजरायली आक्रमणलाई जातीय सफायाकोे संज्ञा दिएको छ ।
प्रतिक्रिया