संसद् विघटनकाे नेपाली कांग्रेसद्वारा विराेध : संविधानलाई टेकेरै समाधान सम्भव थियो

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसले हालै गरिएको प्रतिनिधि सभा विघटनको निर्णयप्रति आपत्ति जनाएको छ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकमा सातै प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरू सहभागी भएका थिए। बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै संसद् विघटन असंवैधानिक र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको निष्कर्ष कांग्रेसले निकालेको जनाउनुभएकाे छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जेन-जीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिँदा संविधानसम्मत समाधान सम्भव थियो, संविधान र लोकतान्त्रिक बाटोबाटै विद्यमान बेथिति अन्त्य गर्न सकिन्थ्यो भन्ने हाम्रो अडान थियो।’

कांग्रेसले आवश्यकताको सिद्धान्त अनुरूप संविधान संशोधनमार्फत अन्तरिम सरकार बनाउने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने र त्यसले राजनीतिक निकास दिने जिम्मेवार प्रस्ताव अघि सारेको जनाएको छ। ‘हामीले गरेको यो प्रस्तावमा आन्दोलनकारीको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुने अवस्था रहँदा संविधान विपरीत कदम चालिनु दुःखद छ,’ विज्ञप्तिमा भनिएको छ।

संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत भएको कांग्रेसको ठहर छ। विज्ञप्तिमा भनिएको छ, ‘चुनौतीपूर्ण अवस्थामा स्थितिलाई थप बिग्रिन नदिन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई लिक बाहिर जान नदिन कांग्रेसले अन्य राजनीतिक दल, नागरिक समाजलगायतसँग परामर्श र संवाद गर्दै शान्ति, लोकतन्त्र र समुन्नतिको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।’

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार  १४ : ४६  बजे