संविधानबाटै निकास खोजेर रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनुपर्छ : पूर्व न्यायाधीश केसी

काठमाडौं : सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले संविधानबाटै निकास खोजेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाइनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा  उनले संविधानको धारा ७६ (५) मा गएर लामिछानेलाई प्रधानमन्त्री बनाउन सकिने बताएका हुन् । लामिछानेलाई अहिले मुद्दा चलिरहेको सन्दर्भमा भने मुद्दा लाग्दैमा कोही मान्छे पनि दोषी नहुने उनको तर्क छ । पूर्व न्यायाधीश केसीले हालका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली पनि ज्यान मारेर १५÷१६ वर्ष जेलमा बसेको स्मरण गराए ।

‘सकभर त संविधानभित्रै रहेर गर्नुपर्छ । मैले देखेको संविधानको बाटो के हो भने धारा ७६ को उपधारा ५ मा जान सकिन्छ । रास्वपाका अहिले २० जना सांसद हुनुहुन्छ । जेलबाट भर्खर निस्किनु भएको छ । उहाँ एउटा उम्मेदवार हो । रास्वपाको लामिछानेलाई मुद्दा चलेको छ भन्नुहोला । तर, तपाईँले संविधान पल्टाउनु भयो भनेदेखि धारा ८७ मा योग्यताको कुरा छ । केपी ओली प्रधानमन्त्री हुनुभयो । उहाँ पनि ज्यान मारेर १५÷१६ वर्ष जेलमा बसेको मान्छे हो । रास्वपाको जुन अध्यक्ष हुनुहुन्छ– मुद्दा लाग्दैमा कोही मान्छे दोषी हु्ँदैन । तर, त्यो सर्वस्वीकार्य हुनुपर्छ, सेनालाई हुनुपर्छ, जेनजीलाई हुनुपर्छ,’– उनले भने ।

संविधानभित्रै रहेर पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन नसकिने उनको भनाइ छ । पूर्व न्यायाधीश केसीले सर्वोच्चको न्यायाधीश र प्रधानन्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी पदमा नियुक्ति हुन नपाउने व्यवस्था संविधानमा रहेको उनले बताए । सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने हो भने पहिला संसद् विघटन गर्दामात्रै अलिकति वैध हुने उनको तर्क छ । ‘सुशिला कार्की, संविधानको आँखाले हेर्ने हो भने नि– सर्वोच्चको न्यायाधीश र प्रधानन्यायाधीश भइसकेको मान्छेलाई सरकारी पदमा नियुक्ति गर्न पाइने छैन भनिएको छ । प्रधानमन्त्रीको पद सरकारी पद हो, कार्यकारी प्रमुख हो ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार  १३ : ४८  बजे