पोखरा घटनाप्रति औषधी व्यवसायी संघको गम्भीर ध्यानाकर्षण

काठमाडौं, २५ भदौ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) नजिकै सञ्चालित ‘फेवा फार्मेसी’मा आक्रमण गरी तोडफोड र लुटपाट भएको घटनाप्रति नेपाल औषधी व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो घटनाले सम्पूर्ण औषधी व्यवसायी असुरक्षाको वातावरण सिर्जना भएको भन्दै कडा शब्दमा भर्त्सना गरेको छ। संघले आन्दोलित समूहले गरेको हिंसात्मक क्रियाकलाप औषधी व्यवसाय, औषधी आपूर्ति, बिरामीको जीवन र स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “औषधी आपूर्ति रोकिए बिरामीको जीवन संकटमा पर्न सक्छ, त्यसैले यस्तो घटनाले जनस्वास्थ्यमा गम्भीर असर पार्छ।” संघले घटनामा संलग्नलाई कारबाही गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकार, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाहरूसमक्ष माग गरेको छ।

संघले औषधी व्यवसायीहरूको व्यवसायिक सुरक्षाका लागि राज्य जिम्मेवार बन्नुपर्ने भन्दै यस्ता घटनाबाट उत्पन्न हुने दीर्घकालीन असरप्रति चेतावनी पनि दिएको छ। साथै, आगामी दिनमा यस्तै घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  १९ : २४  बजे