संसदीय सुनुवाइ समिति सभापतिको शपथ

काठमाडौँ, २३ भदौ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाइ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष सभापति खतिवडाले शपथ लिनुभएको हो । यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन हुनुभएको थियो । त्यस अवसरम सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दहाल, उपसभामुख इन्दिरा राणा, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित हुनुहुन्थ्यो । नवनिर्वाचित संसदीय समितिका सभापतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सभामुखसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । सभापति खतिवडाले आजै पदबहाल गर्नुहुने कार्यक्रम निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार  ११ : ४१  बजे