नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघात (स्ट्रोक) भएका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क उपलब्ध गराइने भएको छ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार सो इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। मस्तिष्कघातको लक्षण देखिएलगत्तै साढे चार घण्टाभित्र अस्पताल ल्याउन सके उपचारको सम्भावना उच्च हुने उनको भनाइ छ।
हाल एक भायल अल्टेप्लेज इन्जेक्सनको मूल्य करिब एक लाख रुपैयाँ पर्छ, जसलाई सबै बिरामीले खरिद गर्न सक्दैनन्। यसैले अस्पतालमा निःशुल्क उपलब्ध गराउँदा विपन्न तथा सिमान्तकृत वर्ग लाभान्वित हुने अपेक्षा गरिएको छ।
पहिलो चरणमा भेरी अस्पतालमा २० भायल उपलब्ध भएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिएका छन्। यसले सात जनासम्मको उपचार गर्न सकिने छ।
यसअघि काठमाडौँ र भरतपुरलगायतका केही सरकारी अस्पतालमा मात्रै यो सुविधा निःशुल्क उपलब्ध थियो। भेरी अस्पतालमा भने हालसम्म उपलब्ध थिएन। हालै डा. सुवेदी, डा. पाण्डेसहितको पहलमा यहाँ पनि सुविधा विस्तार गरिएको हो।
अस्पतालको यो कदमले नेपालगञ्ज मात्र नभई बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसहित आसपासका जिल्लाका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया