कैलालीको जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाखभन्दा बढीको क्षति

काठमाडौँ । कैलालीको लम्कीमा रहेको जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । लम्कीचुहा नगरपालिका-१ स्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एन्ड सप्लायर्समा आज बिहान २:४० बजे आगलागी भएको थियो । आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए । लम्की निवासी कल्पना जैसीले सञ्चालन गरेको गोदाममा रहेका सबै जुत्ताचप्पल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै पनि मानवीय क्षति भने भएको छैन । गोदाममा कोही पनि नबस्ने भएकाले आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार  १७ : १४  बजे