ललितपुर, भदौ २१ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनको प्रस्तावमा फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न सबै प्रतिनिधिलाई आग्रह गर्नुभएको छ।
अध्यक्ष ओलीको यो आग्रह महाधिवेशनको कार्यतालिका र समय व्यवस्थापनलाई सन्तुलित बनाउने प्रयासका रूपमा आएको हो। बन्द सत्रमा विधान संशोधन र राजनीतिक प्रतिवेदनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि आफ्ना कुरा समूहमै राख्न सुझाव दिनुभयो।
अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको उल्लेख गर्दै विधान संशोधन प्रस्तावमा सबै मत समूहमै छलफल गर्न सकिने कुरा स्पष्ट पार्नुभयो। एकजनालाई मात्र हलमा समय दिँदा अन्य प्रतिनिधिहरूले पनि बोल्न समय पाउने–नपाउने प्रश्न नउठ्ने भएकाेले यसाे गरिएकाे उहाँले स्पष्ट पार्नुभयाे ।
अध्यक्ष ओलीको आग्रहलाई हलमा उपस्थित प्रतिनिधिहरूले तालीबाट समर्थन जनाएका थिए। सहमति पाएपछि नेता थापाले आफ्ना मतहरू पर्चामार्फत् वितरण गर्नुभयाे । जसलाई शुक्रबार हलमा उपलब्ध गराइयो। यसरी प्रतिनिधिहरूले आफ्ना सुझाव र असहमति व्यवस्थित रूपमा राख्न सक्ने वातावरण निर्माण भएको छ।
महाधिवेशनको पहिलो दिन, शुक्रबार, अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे। त्यसैगरी, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तावेज प्रस्तुत गर्नुभएको थियो।
दोस्रो दिन, शनिबार, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र अनुशासन आयोगका अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे। यी सबै प्रतिवेदनमा छलफलका लागि महाधिवेशनले दश समूह बनाइएकाे छ। समूहगत छलफल आज दिनभर चल्ने छ।
महाधिवेशनका समूह टोलीले नेताहरूको प्रस्तुतिका समयमा उठेका विषयलाई व्यवस्थित रूपमा संकलन गर्ने जिम्मेवारी पाएका छन्। छलफलका क्रममा उठेका विचार र सुझावहरूलाई बहस नोटका रूपमा संकलन गर्न सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी गठन गरिएको छ। यस कमिटीले महाधिवेशनको अन्त्यसम्म सबै नोटहरू तयार पार्नेछ। महाधिवेशन आइतबार सम्पन्न हुने तय भएको छ।
प्रतिक्रिया