एमाले विधान महाधिवेशनमा आज प्रस्तावमाथि समूहगत छलफल जारी, महाधिवेशन भोलि आइतबारसम्म सञ्चालने

काठमाडौं, २१ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशनमा आजबाट समूहगत छलफल सुरू भएको छ । ललितपुर गोदावरीस्थित सनराइज हलमा दोस्रो दिन आज महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूमाथि छलफल सुरु भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । महाधिवेशनको पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेपछि समूहगत छलफल थालेका हुन् । प्रतिनिधिलाई समूहगत छलफलका लागि १० समूहमा विभाजन गरिएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु थियो । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ । महाधिवेशन भोलि आइतबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार  १२ : २२  बजे