ग्लोबल आइएमई बैंक ‘युरो मनी बेष्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित

काठमाडौं, २१ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेष्ट बैंक अवार्ड प्राप्त गरेको छ।

मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिन का प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरेका हुन्।

सन् १९९२ देखि प्रदान हुँदै आएको यो अवार्डलाई बैंकिङ क्षेत्रको एक प्रतिष्ठित मानिन्छ। ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, नयाँ प्रविधि भित्र्याउने पहल, वातावरणीय–सामाजिक तथा सुशासनका क्षेत्रमा गरेको लगानी र उच्चस्तरीय कार्यसम्पादनका आधारमा यो अवार्ड प्रदान गरिएको हो।

यो अवार्डसँगै ग्लोबल आइएमई बैंकले तेस्रो पटक युरो मनी बेष्ट बैंक अवार्ड जितेको हो। यसअघि पनि बैंकले २०२२ र २०२४ मा यही अवार्ड प्राप्त गरिसकेको थियो। साथै, ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४ र २०२५ सहित विभिन्न अन्तर्राष्ट्रिय मान्यता हासिल गरिसकेको छ।

हाल बैंकले मुलुकका ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेको छ। ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। साथै, बैंकले अमेरिका, बेलायत, अष्ट्रेलिया, मलेसिया, जापान, कोरिया, साउदी अरब, कतार लगायतका मुलुकबाट रेमिट्यान्स सेवा भित्र्याउँदै ग्राहकलाई सुविधा दिँदै आएको छ।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार  ११ : ४२  बजे