एमाले सचिवालय बैठकमा प्रतिवेदन छलफल, महाधिवेशन तयारी अन्तिम चरणमा

काठमाडौं, १८ भदौ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि (बिहीबार) अपराह्न ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको हो  ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल गरी पारित गरिनेछ ।

बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । गौतमका अनुसार तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ ।

एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म हुनेछ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुने विधान महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरी दुई हजार ३५० जना सहभागी हुँदैछन् ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार  ०९ : ४१  बजे