एमालेको दोस्रो विधान महाधिवेशन सुरु हुन ४ दिन बाँकी, के के तयारी सकियो ?

काठमाडौं, १६ भदौ । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको आउन चार दिन बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिब पूरा भएको केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ ।

‘दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधी हुन् । तिमध्ये कसैको मृत्यु भएको, कसैले पार्टी छोडेका र कसैलाई पार्टी कारबाही गरेकाहरुको सूची हटाइएको छ’ गौतमले भने, ‘तर ति रिक्त ठाउँमा नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था एमालेमा छैन । अर्कोतिर दशौं महाधिवेशनपछि मनोनित भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरुलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उहाँहरु आयोजकको हैसियतमा रहनुहुन्छ । ’

महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २ हजार ३ सय ४९ जना सहभागी हुँदैछन् ।

केन्द्रीय कार्यलयले हिजो नै सबै प्रतिनिधिहरुलाई एसएमएसमार्फत महाधिवेशनको निमन्त्रणा पठाइ सकेको छ । केही प्रतिनिधिहरुको मोबाइल नम्बर अद्यावधिक नभएकोले सम्बिन्धत जिल्ला कमिटीहरुलाई सबै प्रतिनिधिलाई जानकारी दिन केन्द्रीय कार्यलयले निर्देशन गरेको छ । पार्टीले विधान महाधिवेशनको मुल नाराको रुपमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय गरेको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन वटा प्रतिवेदन राजनीतिक, सांगठनिक र विधान छपाइको काम भइरहेको छ ।

यस्तै, निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइको क्रममा रहेको छ । प्रतिनिधि परिचय पत्र छपाइ भइसकेको छ । एमाले स्रोतका अनुसार भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदनहरु महाधिवेशनमा पठाउने निर्णय लगायत अन्य केही प्राविधिक विषयमा निर्णय हुनेछ ।

प्रमुख गौतमका अनुसार भदौ १८ गते प्रचार तथा प्रकाशन विभागका तर्फबाट पत्रकार सम्मेलनमार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी गराइनेछ । परिचय पत्र अनलाइनमार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ ।

डा. अधिकारीका अनुसार गोदावरीस्थित सनराइज हलमा छिर्नका लागि प्रतिनिधिहरुलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ । खाना र खाजाका लागि हिजो नै एक व्यांकेटलाई जिम्मा दिइएको छ ।

महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको छ । विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटीहरुले सातदोबाटोदेखि गोदावरीसम्म स्वागत द्वार निर्माण र हसियाँ हथौडा र सूर्य चिन्ह अंकित झण्डा राख्ने तयारी गरेका छन् ।

ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्ने काम गर्दैछ ।

यसैगरी, भक्तपुर जिल्ला कमिटीले जडिबुटीदेखि सूर्यविनायकसम्मका १० वटा आकासे पुलमा महाधिवेशनको नारा र लोगो अंकित ब्यानर र चोकचोकमा झण्डा राख्ने तयारी थालेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्ने महाधिवेशनको कार्यसूची तयार गर्न अहिले बिहान महासचिव शंकर पोखरेलको उपस्थितिमा बैठक बस्दैछ ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार  ०९ : ०९  बजे