काठमाडौं, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) डा. लेखजंग थापालाई बहुविवाहको उजुरीबीच पनि रूपन्देही– ३ को उपनिर्वाचनमा उम्मेदवार बनाएको छ। आइतबार रास्वपाले लेखजंगलाई उम्मेदवार बनाएको घोषणा गरेको हो। लेखजंगले बहुविवाह गरेको भन्दै रास्वपा सचिवालय तहका केही नेताहरूले पार्टीमा कुरा उठाएका थिए। यो कुरा नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई पनि जानकारी गराएका थिए। रास्वपाका एक नेताका अनुसार रविले पनि लेखजंगसँग उहाँको बहुविवाहबारे सोध्नुभएको थियो । जबाफमा लेखजंगले आफ्नो एक श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको भनेको ती नेताले बताए।
यसबारे पत्रकारले पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सोधका थिए तर कविन्द्रले लेखजंगले दुइटा बिहे गरेको तर पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर मात्रै अर्को बिहे गरेको दावी गरेपनि लेखजंगले सम्बन्ध विच्छेद कहिले गरेको भन्ने मिति भने कविन्द्रले बताउनु भएन । लेखजंगलाई नजिकबाट चिन्ने कतिपय डाक्टरहरूले उहाँ दुवै श्रीमतीसँग बस्दै आएको बताएका छन्। उहाँको सम्बन्ध विच्छेद पनि नभएको ती डाक्टरहरूले दाबी गरेका छन्।
एउटी श्रीमतीलाई डिभोर्स दिएर मात्र अर्को बिहे गरेको भन्ने महामन्त्री कविन्द्रको दाबीलाई लेखजंग स्वयंले पाँच वर्षअघि आफ्नै युट्युब च्यानलमा अपलोड गरेको भिडिओ र उहाँका श्रीमतीहरूले हालसालै बनाएका टिकटक भिडिओहरूले पुष्टि गर्दैनन्। लेखजंगले पाँच वर्षअघि सुपर थापा फ्यामिली भनेर युट्युबमा भिडिओ अपलोड गरेका छन्। सो भिडिओमा एकसाथ उनका जेठी र कान्छी श्रीमती देखिएका छन्। लेखजंगका श्रीमतीहरू सुलोचना घिमिरे (पहिलो) र नुमा शर्मा (दोस्रो) ले सामाजिक सञ्जालहरूमा राखेका फोटा र भिडिओमा पनि उनीहरू तीनै जना सँगै देखिन्छन्। चाडवाडदेखि अन्य समयमा पनि उनीहरूले राखेका फोटाहरूले उनीहरू अलग भएको जस्तो देखिँदैन। नुमाले एक महिनाअघि मात्र सामाजिक सञ्जालमा हालेको फोटोमा पनि उनीहरू सँगै छन्।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ अञ्चलपुरका लेखजंगलाई रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सनको मत र अरू प्रक्रियाका आधारमा उम्मेदवार बनाउने घोषणा गरेको हो।
यसअघि लेखजंग, २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) तर्फबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसदको सूचीमा हुनुहुन्थ्यो। उहाँको नाम अहिले पनि उक्त पार्टीले निर्वाचन आयोगमा पेस गरेको अन्तिम बन्द सूचीको नवौं नम्बरमा छ।
लेखजंग समानुपातिकबाट आफ्नो नामै नहटाइ प्रतिस्पर्धाको दौडमा सामेल भएका कतिपयले बताएका छन्। उहाको नाम समानुपातिकको सूचीबाट हटे, नहटेको भने यकिन छैन। लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा पनि नाउपाकै कोटाबाट लुम्बिनी प्रदेश योजना आयोगको सदस्य बन्नुभएको थियो ।
नर्सिङमा मास्टर्स गरेकी नुमालाई लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री जोखबहादुर महराले २०८१ जेठमा प्रदेश योजना आयोग सदस्य नियुक्त गर्नुभएको थियो। पछि चेतनारायण आचार्य मुख्यमन्त्री बनेपछि उनलाई हटाइएको थियो। नुमा हाल काठमाडौंमा हुनुहुन्छ । लेखजंगकी पहिलो श्रीमती सुलोचना घिमिरेले बिएससी नर्सिङ गर्नुभएको छ । उहाँ भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत हुनुहुन्छ । लेखजंगको उम्मेदवारी निर्वाचन आयोगमा दर्ता गर्ने समय बाँकी नै भएकाले विवादित मानिसलाई उम्मेदवार बनाउन हुँदैन, उम्मेदवार फेर्नुपर्छ भनेर रास्वपाभित्रै कतिपयले आवाज उठाएका छन्।
प्रतिक्रिया