मन्त्रीलाई धम्क्याएको आरोपमा टिकटकर महिला पक्राउ

काठमाडौं, १५ भदौ ।  खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेर धम्काउने महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।वीरगन्जमा हैजा संक्रमण बारेमा खानेपानी मन्त्रीसंग फोनमा चर्को स्वरमा बोल्ने महिलालाई पक्राउ गरिएको पर्सा प्रहरीले पुष्टि गरेको छ । वीरगन्जको मुर्लीबाट किरण साहलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता सुवास भट्टले पुष्टि गर्नुभयो ।

उहाँका अनुसार खानेपानी मन्त्रीको सचिवालयले आज प्रहरीमा उजुरी दिएको हो, सोही उजुरीको आधारमा पक्राउ गरिएको हो । साइबर अपराध अन्तर्गत उजुरी परेकोले आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता भट्टले बताउनुभयो । साहसँग अहिले प्रहरी नियन्त्रणमा लिएर आवश्यक सोधपुछ चलिरहेको बताउनुभयो ।

शुक्रबार राति सामाजिक सञ्जालमा खानेपानी मन्त्री यादव र एक महिलासंग भएको कुराकानीको अडियो भाइरल भयो, जसमा ती महिलाले आफ्नो कुराकानी चर्को स्वरमा राखिरहेकी छन् । उक्त अडियोमा साहले कडा शब्दमा मन्त्री यादवलाई वीरगञ्जमा फैलिएको हैजाबारे प्रश्न गरेकी छन् । उनले खानेपानी मन्त्रीलाई फोन गरेर हैजासंग सम्बन्धित समस्याबारे जानकारी गराउन खोजेकी थिइन् । तर पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग कुरा गर्न नपाएपछि उनले आक्रोश व्यक्त गरेको उक्त अडियो सुनिन्छ ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार  ०७ : ४१  बजे