भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग खेल्दै

काठमाडौं, ११ भदौ । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल दिउँसो नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । यसअघि नेपालले बंगलादेशसँग आइतबार पनि खेलेको थियो जहाँ ३(० ले पराजित भएको थियो ।

आजको खेलसहित बाँकी ३ वटै खेल नेपाललाई जित्नैपर्ने दबाब छ । आजको खेलमा पराजित भएमा नेपाल २ खेल खेल्नुअगावै उपाधि होडबाट बाहिरिनेछ ।

नेपाल आजको खेलमा पराजित भएमा बाँकी २ खेल जितेपनि सर्वाधिक ९ अंकसम्म पुग्न सक्छ । तर त्यसपछि भारत र बंगलादेशबीच हुने खेलपछि एक टोलीले ९ अंक पार गर्ने भएकाले नेपाललाई अब ३ वटै खेल जित्नुको विकल्प हुने छैन ।

डबल राउण्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा हाल भारत ३ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा छ भने बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो तथा नेपाल ३ अंक जोडेर तेस्रोमा छ । जितविहीन भुटान चौथोमा छ ।

नेपाल पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हराएको थियो ।

बंगलादेशले भुटानलाई पहिलो खेलमा ३-१ ले हराउँदा भारतसँग २-० ले पराजित भएको थियो ।

पछिल्लो समय बंगलादेशले महिला फुटबलका हरेक उमेर समूहमा राम्रो प्रदर्शन गर्दै आएको छ । नेपाल भने उमेर समूहमा भारत र बंगलादेशभन्दा कमजोर देखिँदै भुटानसँग चुनौतीपूर्ण खेल पस्कने स्तरमा छ ।

नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी रहेको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार  ०७ : ३५  बजे