राष्ट्रपतिद्वारा विपिन रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौं, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका गर्नुभएको छ । राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलवार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथाशक्य पहल गरिदिन सो आग्रह गर्नुभएको हो । उहाँले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतलनिवासमा आइतवार भेटेर रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताउनुभयो ।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार  २० : ०१  बजे