काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले तिज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा रहेकाले यसको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभएको छ । नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तिज), २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना व्यक्त गर्नुभएको छ । यसपर्वमा नेपाली नारीले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ ।
परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यबद्धताको प्रतिविम्बको रुपमा यस पर्वलाई मनाउँदै आएको पाइन्छ ।
परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्ठा, धैर्य र समर्पण कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलको भनाइ छ ।
“महिलाविरुद्ध हुनसक्ने भेदभाव, हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्यायहरूको अन्त्यगरी सभ्य र समतामूलक समाज निर्माण गर्न तिज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु”, राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ । शान्ति र प्रेरणाका रूपमा रहने समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा रहेको उहाँले बताउनुभएको छ । “आदर्शमय तथा एकतात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अतिआवश्यक रहेको छ”, राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ ।








प्रतिक्रिया