काठमाडौं, ८ भदौ । पशुपति क्षेत्र विकास कोषले भदौ १० गते मंगलबार मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ। पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरूका लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो।
मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन मित्रपार्क जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो । यसैगरी तेस्रो लाइन पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाइन बत्तीसपुतली–गौशालातर्फबाट बागमति नदि पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पूर्व ढोकाबाट प्रवेश र बाहिरिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने भट्टले जानकारी दिनुभयो। उहाँले मेलामा चोरी र लुटपाटको हुन नदिन भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म साना बालबालिका साथमा लिएर नआउन अनुरोध गर्नूभयो ।
त्यस्तै पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले सोही दिन पशुपतिको चावटा ढोकाबाट प्रत्येक दुई सेकेन्डमा ८ जना भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँले शिष्ट र सभ्य पहिरनमा मन्दिर दर्शनका लागि आउन आग्रह गर्नुभयो । नदि किनारमा पानीको बहाव बढेकाले विपद् प्रतिकार्य टोली खटाइएको उहाँले जानकारी दिनुभयो । यसैगरी भक्तजनको सवारी पार्किङका लागि सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको कोषले बताएको छ। ज्येष्ठ नागरिक, असक्त, वृद्धवृद्धा, बिरामी र काखे बालक बोकेका महिलाहरूका लागि सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया