पाँच प्रदेशमा रातिसम्म ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, ६ भदौ । गएराति देशका विभिन्न ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ । कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पालगायत जिल्लाका केही ठाउँमा राति ठूलो पानी परेको हो । काठमाडौं उपत्यकामा समेत राति मध्यम वर्षा भएको थियो । बिहान भने काठमाडौंमा पानी पर्न रोकिएको छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लगातार पानी परिरहेको र पानी पर्ने ठाउँमा भेलबाढीको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार  ०७ : ३२  बजे