जनताको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता : मन्त्री पौडेल

धनगढी, ५ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जनताको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आज धनगढी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा एक समारोहका बिच बालबालिकाहरूका लागि स्वर्ण विन्दु प्रासन खुवाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्नुहुँदै मन्त्री पौडेलले उक्त कुरा बताउनुभएको हो ।

उहाँले नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकद्वार प्रणालीको व्यवस्था गरेको बताउनुभयो । मन्त्री पौडेलले सम्पूर्ण सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत प्रणालीमा ल्याएर स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी, सुलभ र सहज बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

मन्त्री पौडेलले कैलालीको गेटामा तीन सय शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको र आगामी मसान्तसम्म गेटामा मेडिकल चिकित्सा शिक्षा अध्ययनको तयारी सुरु भएको बताउनुभयो ।

मन्त्री पौडेलले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन भएर एमबिबिएस पढाइ सुरु भएमा सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालयका लागि सहज हुने बताउनुभयो । उहाँले आयुर्वेद उपचार सेवालाई विस्तार गरिनु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार  ११ : ४०  बजे