भारत र चीनलाई नेपालको जवाफ : लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो, सीमा व्यापार नगर्नु

काठमाडौं, ५ भदौ । नेपाली भूमि लिपुलेक हुँदै भारत–चीनबिच सीमा व्यापारको सहमति भएपछि नेपालले जवाफ दिएको छ।

परराष्ट्र मन्त्रालयले नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ भनेको छ।

जवाफमा नेपालले भारतलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको कुरा पनि उल्लेख गरेको छ । उक्त क्षेत्र नेपाली भू-भाग रहेको विषय चीनलाई समेत जानकारी गराइसकिएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल-भारतबिचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबिचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध छ ।

नेपालको चासो र ‘कूटनीतिक नोट’लाई बेवास्ता गर्दै भारत र चीनले अतिक्रमित नेपाली भूमि लिपुलेक पासबाट हुने गरी व्यापार खोल्ने सहमति गरेपछि तीव्र आलोचना भइरहेको छ ।

भारत भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबिच भएको १२ बुँदे समझदारीअन्तर्गत लिपुलेक पासबाट व्यापार खोल्न ‘द्विपक्षीय सहमति’ गरेका हुन् ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार  ०७ : २९  बजे