बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल ठोकिँदा २ युवकको मृत्यु, ३ जना घाइते

काठमाडौं, २ भदौ ।  काठमाडौँको बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल आपसमा ठोकिँदा दुई युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो । दुर्घटनामा सिराहाको जम्दह(४ निवासी २९ वर्षीय भोला थापा र नाम ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय युवक छन्।

उनीहरूको उपचारको क्रममा त्रिवि शिक्षण अस्ताल महाराजगञ्जमा मृत्यु भएको हो। गएराति पौने २ बजेतिर बुढानीलकण्ठ नगरपालिका वडा नम्बर( ७ स्पेसलचोकमा गोल्फुटारबाट बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०२– ०४१ प ६८१९ को स्कुटर र बुढानिलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको एसपी बोहोराले जानकारी दिनुभयो । र्घटनामा गोरखाको आरुपोखरी घर भई हाल बुढानिलकण्ठ– ८ भंगाल बस्दै आएका अन्दाजी २४ वर्षीय एरिक परियार, नाम, थर र बतन नखुलेका अन्दजी २८ वर्षीय युवक र नाम, थर र बतन नखुलेका अन्दाजी वर्ष ३० का युवक गरि तीनजना घाइते भएका छन्। घाइतेमध्ये नाम, ठेगाना नखुलेका दुई युवकको अवस्था गम्भीर छ। गम्भीर घाइते एक युवकले कालो ट्याक,निलो टिसर्ट लगाएका र अर्का युवकले खैरो बक्स पाईन्ट, सेतो ट्याक लगाएका प्रहरीले जनाएको छ।

मङ्गोलिएन अनुहार भएका करिव ३० वर्षीय युवकका कोही आफन्तसमेत हाल सम्म सम्पर्कमा नआएका प्रहरीको भनाइ छ। घटनाको जानकारीपछि प्रहरी प्रभाग बुढानिलकण्ठबाट प्रहरी सहायक निरीक्षक सुवर्ण प्याकुरेलको कमाण्डमा गएको प्रहरी टोलीले घाइतेलाई अस्पताल पुर्याउनुभएको थियो । हाल दुबै सवारी साधन प्रहरी नियन्त्रणमा छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार  ०९ : २९  बजे