कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट नेपालीको मृत्यु, कैयौं अस्पतालमा

काठमाडौं, ३१ साउन । कुवेतमा केही दिनअघि विषादीयुक्त मदिरा सेवनका कारण कम्तीमा ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएको पुष्टि भएको छ। नेपाली राजदूतावास, कुवेतले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार पीडितमध्ये केहीको मृत्यु भइसकेको छ भने केहीको अवस्था गम्भीर छ।

अन्यलाई विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको दूतावासले जनाएको छ। घटना बारे जानकारी प्राप्त हुनासाथ राजदूतासहितका कर्मचारीहरूले तत्काल अस्पताल पुगेर बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको विज्ञप्तिका उल्लेख छ। दूतावासले कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रही बिरामीहरूको उचित उपचारका लागि समन्वय गरिरहेको जनाएको छ।

दूतावासले मृतकप्रति गहिरो समवेदना प्रकट गर्दै उपचाररत सबै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन सबै नेपालीलाई विशेष अनुरोध गरेको छ।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार  ०७ : ३८  बजे