काठमाडौं, २९ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सबै सङ्घीय अस्पताल र स्वास्थ्य संस्थालाई एक हप्ताभित्र व्यावसायिक योजना पेस गर्न निर्देशन दिएको छ । मन्त्रालयले मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्य अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले परिपत्र गरेको हो ।
मातहतका कार्यालयबाट प्राप्त हुने व्यावसायिक योजनाको आधारमा मन्त्रालय र अन्तर्गतका स्वास्थ्य संस्थाबिच कार्य सम्पादन सम्झौता गर्ने तयारी मन्त्रालयले गरेको छ । यो सम्झौताले अस्पताल तथा स्वास्थ्य संस्थालाई थप जवाफदेही र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयको मुख्य उद्देश्य स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नु र हरेक संस्थालाई आफ्नो लक्ष्यप्रति जिम्मेवार बनाउनु रहेको बताउनुभयो । कार्य सम्पादन सम्झौताले हरेक संस्थाको वार्षिक कार्ययोजना र त्यसको प्रगतिको स्पष्ट मापन गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।
विगतमा बजेट भाषणमा समावेश भएका अधिकांश स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा नआएको र बजेट समयमै खर्च हुन नसकेको जस्ता गुनासा आउने गरेका थिए । महालेखा परीक्षकको प्रतिवेदनले समेत पटक–पटक यस्ता विषयलाई औंल्याउँदै आएको छ ।
यही समस्यालाई सम्बोधन गर्न मन्त्रालयले यसपटक आर्थिक वर्षको सुरुवातमै सक्रियता देखाएको हो । यसअघि पनि स्वास्थ्य संस्थाको स्थापना, सञ्चालन तथा स्तरोन्नति सम्बन्धी निर्देशिका, २०७० मा प्रस्तावित स्वास्थ्य संस्थाका लागि व्यावसायिक कार्य योजना आवश्यक पर्ने उल्लेख थियो ।
विभिन्न सरकारी निकायमा कार्य सम्पादन सम्झौताको अभ्यास पहिलेदेखि नै हुँदै आएको छ । अब स्वास्थ्य क्षेत्रमा पनि यसलाई प्रभावकारी रूपमा लागु गर्न लागिएको हो । यो सम्झौताले स्वास्थ्य संस्थालाई आफ्नो स्रोत र साधनको अधिकतम उपयोग गर्दै विशिष्टीकृत सेवा विस्तार गर्न र समग्र स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ पार्न मद्दत गर्ने विश्वास मन्त्रालयको छ ।
प्रतिक्रिया