चरीकोट, २९ साउन । माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले नदी किनारामा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले साउन ३१ गते आफ्नो जलाशय सफा गर्ने भएको हो ।
आयोजनाले आज एक सार्वजनिक सूचना जारी गर्दै जलाशय सफाइका कारण नदीको बहावमा अस्वभाविक उतारचढाव आउने भएकाले तामाकोशी नदी किनारमा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको हो ।
दोलखाको बिगु गाउँपालिका-१ मा अवस्थित ४५६ मेगावाट क्षमताको यस आयोजनाले साउन ३१ गते शनिबार बिहान ५ः०० बजेदेखि राति ८ः०० बजेसम्म जलाशय सफा गर्ने कार्यक्रम रहेको सूचनामा उल्लेख गरेको छ ।
आयोजनाले सम्भावित दुर्घटनाबाट बच्नका लागि सो समयमा नदीमा माछा मार्ने नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटी–बालुवा निकाल्ने तथा गाडी तार्ने जस्ता कुनै पनि जोखिमपूर्ण कार्य नगर्न र नगराउन सर्वसाधारणमा अनुरोध गरेको हो ।
नदी किनारमा परम्पराअनुसार गरिने दाहसंस्कार वा अन्य धार्मिक संस्कारका कार्यहरू पनि अत्यन्त सतर्कतापूर्वक र सावधानीका साथ गर्न आयोजनाले आग्रह गरेको छ ।
प्रतिक्रिया