काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री ओली अगस्ट ३० मा चीन गएर सेप्टेम्बर ३ मा फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन उहाँ त्यता जान लागेको बताइएको छ । अगस्ट ३१ देखि सो सम्मेलन सुरु हुँदैछ ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली र त्यहाँका राष्ट्रपति सी चिनफिङ बिच भेटवार्ता हुने तय भएको छ । ओली र सीबिच सेप्टेम्बर ३ मा भेटघाट हुने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले जनाएको छ । सोही कार्यक्रममा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै हुनुहुन्छ । त्यहाँ मोदीसँग पनि प्रधानमन्त्री अोलीको भेटघाट हुने सम्भावना रहेको स्रोतले जनाएको छ । तर अझै त्यसको कार्यतालिका तय भइनसकेको बताइएको छ ।
त्यहाँ अन्य देशका प्रधानमन्त्रीहरू पनि आउने छन् । ओलीसँग विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि साइडलाइन भेटवार्ता हुने बताइएको छ । सम्मेलनमा आउने विदेशी प्रतिनिधिहरूका लागि राष्ट्रपति सीले सेप्टेम्बर ३ मा दिवा भोजको आयोजना गर्ने जनाइएको छ । एक वर्षको कार्यकालमा प्रधानमन्त्री ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ । यसअघि उनले २०८१ मङ्सिरमा चीन भ्रमण गरेका थिए । ओलीले यो बिचमा अमेरिका, थाइल्याण्डलगायतका देशको भ्रमण सक्नुभउको छ । उहाँ साउन २३ गते तुर्कमेनिस्तानको भ्रमणबाट फर्केनुभएको हो । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उनी तुर्कमेनिस्तान जानुभएको थियो । चीनबाट फर्केपछि प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जानुहुनेछ छ । सो भ्रमणको तयारीका लागि भदौ १ गते भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपाल आउँदै हुनुहुन्छ ।
प्रतिक्रिया