आणविक वार्ता पुनः शुरू नभए इरानमाथि प्रतिबन्ध लगाउने बेलायत, फ्रान्स र जर्मनीको चेतावनी

काठमाडौं, २८ साउन । आणविक वार्ता पुनः शुरू नभए इरानमाथि प्रतिबन्ध लगाउने बेलायत, फ्रान्स र जर्मनीले चेतावनी दिएका छन् । यी तीन देशले यदि इरानले अगस्टको अन्त्यसम्ममा आफ्नो आणविक कार्यक्रममा वार्ता पुनः शुरू नगरेमा उसमाथि फेरि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसङ्घलाई बताएका बीबीसीले जनाएको छ ।

‘ई–थ्री’ भनेर पनि चिनिने बेलायत, फ्रान्स र जर्मनीले इरानले वार्ता पुनः शुरू नगरेमा ‘स्न्यापब्याक संयन्त्र’ लागू गर्न तयार रहेको बताएका छन् । स्न्यापब्याक संयन्त्र एउटा यस्तो प्रावधान हो जसअन्तर्गत यदि इरानले आणविक सम्झौताका शर्तहरू उल्लङ्घन गरेको विश्वास गरिन्छ भने सन् २०१५ भन्दा पहिलेका सबै कडा संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरू स्वतः पुनः लागू हुन्छन् ।

बेलायत, फ्रान्स र जर्मनीले वार्ताको समयसीमा अगस्टको अन्त्यसम्म बढाउने प्रस्ताव गरेको बताएका छन्, यसबारेमा इरानले कुनै प्रतिक्रिया दिएको छैन ।

गएको महिना इरानले थप वार्ताका लागि तयार रहेको बताएको थियो । तर उसले विद्यमान प्रतिबन्धहरू हटाइनुपर्ने र नागरिक आणविक कार्यक्रमको अधिकारलाई मान्यता दिइनुपर्ने शर्त राखेको थियो ।

इरानले ‘ई–थ्री’, अमेरिका, रुस र चीनसँग आणविक सम्झौतामा हस्ताक्षर गरेपछि सन् २०१५ मा आणविक कार्यक्रममाथिको प्रतिबन्ध हटाइएको थियो । सम्झौताको म्याद अक्टोबरमा समाप्त हुँदैछ ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार  १९ : ५२  बजे