देशभर आज भारी वर्षाको सम्भावना, केही स्थानमा धेरै भारी

काठमाडौं, २८ साउन । देशभर आज पूर्णतया बदलीको सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा आज मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आज मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित देशको पहाडी भूभागमा पूर्णतया बदली रहने छ । बाँकी भूभागमा साधारणतया बदलीको सम्भावना छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका स्थानमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भूभागको थोरै स्थान, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मशाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने महाशाखाले बताएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार  ०६ : ३६  बजे