सुनसरीमा बस र विङ्गर ठोकिँदा ३ जनाको मृत्यु, २० घाइते

काठमाडौ, २६ साउन ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलमा बस र विङ्गर ठोकिँदा ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

प्रहरीका अनुसार आज बिहान ७ः१५ बजे काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ ज ००४७ नम्बरको विङ्गर एकआपसमा ठोकिएका हुन्।

दुर्घटनामा बस र विङ्गरमा सवार यात्रुमध्ये २० जना घाइते र २ जनाको घटनास्थलमै मृत्यु भएको हो। उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा उपचाररत १५ जनामध्ये २ जना पुरुषको मृत्यु भएको छ। एक जना गम्भीर अवस्थामा छन् भने १२ जनाको मध्यम चोटपटक छ।

जिल्ला अस्पताल, इनरुवामा उपचाररत ५ जनामध्ये १ महिलाको मृत्यु भएको छ।

त्यहाँका ३ जनालाई विराटनगरको गोल्डेन अस्पतालमा रिफर गरिएको छ भने १ जनाको सामान्य चोटपटक छ।

२० जनामध्ये २ पुरुष र १ महिला गरी ३ जनाको मृत्यु भएको हो। ४ जना गम्भीर, १२ जना मध्यम र १ जनाको सामान्य चोटपटक भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिनुभयो ।

बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको छ भने विङ्गर चालक घाइते भई उपचाररत छन्।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार  १० : ३३  बजे