सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ– प्रधानमन्त्री ओली

काठमाडौं, २६ साउन ।  प्रधानमन्त्री केपी ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताउनुभएको छ ।मधेश प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत रोपाइँ भएकामा खुसी व्यक्त गर्दै उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै तराईमा सिँचाइको स्थायी समाधान खोजिने बताउनुभएको हो । तराईमा आगामी वर्षदेखि अकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको बताउनुभएको छ । वर्षासँगै सुक्खाले संकटग्रस्त मधेश प्रदेशमा रोपाइँ सुरु भएकामा प्रसन्न भएका प्रधानमन्त्री ओलीले धेरै महिला सहभागी भएर रोपाइँ गरेको तस्बिरसहित देश र जनतालाई अभिवादन गर्दै ‘यस वर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईका खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो । जहाँ रोपाइँ भयो, त्यहाँ पानीको अभावले रोपो मर्न थालेको थियो ।

किसानका पिर, पसिना र सपना माटोमै सुक्न लागेका वेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो’ भन्नुभएको छ । आगामी वर्षदेखि अकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको र अब त्यो दिन धेरै टाढा नभएको उहाँले बताउनुभएको छ । किसानको मुस्कान, जमिनमा हरियालीको गन्ध र समाजको खाद्यान्न भविष्यलाई देशको र वर्तमान सरकारको लक्ष्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै किसानलाई अभिवादन गर्नुभएको छ । ‘तत्कालका लागि पाँच सयवटा डिप बोरिङ जडानको काम सुरु गरिएको थियो र दीर्घकालीन समाधानका लागि सुनकोशी(मरिन डाइभर्सनको काम अघि बढाइरहेको छ । पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ । वर्षाले फेरि हरियाली फर्काउन थालेको छ । यही साउन २३ गतेसम्म मधेश प्रदेशका आठ जिल्लामा ७६।५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ,’ प्रधानमन्त्रीले भन्नुभएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार  ०७ : १३  बजे