गाजामा इजरायली हमलामा अलजजिराका चार पत्रकार मारिए

काठमाडौं, २६ साउन । गाजा सहरको अल–शिफा अस्पतालनजिकै भएको इजरायली हमलामा चारजना पत्रकार मारिएको अलजजिराले जनाएको छ ।

अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेका बेला उक्त ठाउँलाई निशाना बनाएर गरिएको आक्रमणमा उनीहरू मारिएका हुन् । मारिने पत्रकारहरूमा प्रतिवेदक अनस अल–शरीफ, मोहम्मद क्रेइकेह, क्यामेराम्यान इब्राहिम जाहेर र मोहम्मद नोउफल रहेको अलजजिराले जनाएको छ ।

दुई हप्ताअघि अलजजिराले इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)को गाजामा कार्यरत आफ्ना पत्रकारहरू, विशेषगरी अल–शरीफमाथि उक्साहटको अभियान चलाएको भन्दै निन्दा गरेको थियो ।

हमलापछि तुरुन्तै आईडीएफले अनस अल–शरीफलाई हमलाको निशाना बनाइएको पुष्टि गर्दै टेलिग्राममा एक पोस्ट गर्दै उनले हमासको आतंककारी समूहको नेतृत्व गरेको दाबी गरेको बीबीसीले उल्लेख गरेको छ ।

तर, आईडीएफले मारिएका अन्य पत्रकारहरूको बारेमा केही उल्लेख गरेको छैन । २८ वर्षीय अल–शरीफले आफ्नो मृत्युको केही क्षणअघि सामाजिक संजाल एक्समा पोस्ट गरिरहेको पाइएको छ, जसमा उनले गाजा सहरभित्र तीव्र इजरायली बमबारी भइरहेको बताएका थिए ।

कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्सका अनुसार अक्टोबर २०२३ मा गाजामा इजरायलको सैन्य कारबाही सुरु भएयता १८६ पत्रकारहरू मारिएको पुष्टि भएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार  ०६ : ५४  बजे