वीरगञ्ज, २५ साउन । पर्साको ठोरी गाउँपालिका–४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटे बाघ भेटिएको छ ।
पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आइतबार बिहान ७ः३० बजे आसपासमा ठोरीको मालीबस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटे बाघ मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो ।
‘ठोरीका स्थानीयले पाटे बाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली खटिएको छ, अनुसन्धान भइरहेको छ’, उहाँले भन्नुभयो,‘पर्सा राष्ट्रिय निकुञ्ज आधारभार र नेपाली सबुज गणको टोली पनि आवश्यक अनुसन्धानका लागि गएको जानकारी प्राप्त भएको छ ।’
पर्सा प्रहरीका अनुसार प्रहरीचौकीबाट सो स्थान चार किलोमिटर दूरीमा पर्छ । पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेले मृत भेटिएको पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्ज ल्याइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘पाटेबाघको बाहिरीभागमा सामान्य चोटपटक देखिएको छ भन्ने सुन्नमा आएको छ । बाघ जुधेर हो वा अन्य के कारणले चोटपटक लागेको हो भन्नेबारे शव परीक्षणपछि नै थप जानकारी प्राप्त हुनेछ ।’
प्रतिक्रिया