काठमाडौं, २५ साउन । बंगलादेशको निर्वाचन आयोगका प्रमुख एएमएम नासिर उद्दीनले देशमा सन् २०२६ को फेब्रुअरी पहिलो साता आमचुनाव हुने शनिबार घोषणा गरेका छन् ।
उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन निश्चित गर्नु अझै पनि ठूलो चुनौती रहेको बताए । देशको उत्तर–पश्चिमी रंगपुर जिल्लामा आयोजित एक कार्यक्रममा उद्दीनले आयोग र निर्वाचन प्रक्रियाप्रति जनताको विश्वास घटेको तर आफू र टोलीले यो पुनर्स्थापित गर्न प्रयास गरिरहेको बताएका बंगलादेशको सरकारी समाचार एजेन्सी ९बीएसएस०ले जनाएको छ ।
चार दिनअघि पूर्वप्रधानमन्त्री शेख हसिनालाई आन्दोलनबाट अपदस्थ गरेको पहिलो वार्षिकोत्सवको अवसरमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले अर्को वर्ष फेब्रुअरीमा निर्वाचन हुने घोषणा गरेका थिए । बंगलादेशको त्यो १३औँ संसदीय निर्वाचन हुनेछ ।
युनुस सरकारले कार्यकारी आदेशमार्फत आवामी लीगको गतिविधिमा प्रतिबन्ध लगाएका कारण पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ ।
बीएनपीका स्वघोषित कार्यवाहक अध्यक्ष तथा जियाका छोरा तारिक रहमानले आफ्नो पार्टी र समान विचारधारा भएका सहयोगीको गठबन्धनले फेब्रुअरीमा हुने निर्वाचनमा भाग लिने बताए ।
बीएनपीले यसअघि १२ दलको गठबन्धन बनाएको थियो । त्यसमा अधिकांश मध्य–दक्षिणपन्थी र एक वामपन्थी दल समावेश थिए । तर, हाल पार्टीले अति–दक्षिणपन्थी जमात–ए–इस्लामीसँग स्पष्ट रूपमा दूरी कायम गरेको छ ।
बीएनपी नेतृत्वको चारदलीय गठबन्धन सरकारमा जमात प्रमुख सहयोगी थियो, जसले सन् २००१ देखि २००६ सम्म देशमा शासन गरेको थियो । तर, गत वर्ष आवामी लीग सत्ताबाट बेदखल भएपछि यी दुई दलबीचको दूरी स्पष्ट देखिएको छ ।
प्रतिक्रिया