काठमाडौं, २३ साउन । भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा मङ्गलवार आएको बाढी पहिरोमा अहिलेसम्म नेपाली नागरिक मृत फेला नपरेको भारतमा रहेको नेपाली दूतावासले जनाएको छ ।
उत्तराखण्ड प्रहरीले दूतावासलाई उपलब्ध गराएको विवरण अनुसार त्यस क्षेत्रमा अहिलेसम्म ३ सय ७२ जनाको सकुशल उद्धार गरिएको छ । दुई जनाको शव भेटिएको छ । तर उद्धार गरिएका र फेला परेका शव नेपाली नागरिकको नरहेको दूतावासले जानकारी दिएको छ ।
त्यस्तै उत्तराखण्डको पौडी गढवाल जिल्लाको बागोडामा साउन २१ गते आएको बाढी पहिरोमा पाँच जना नेपाली हराइरहेको दूतावासलाई विवरण प्राप्त भएको छ । घाइते भएका चार जना नेपालीमध्ये तीन जना घर फर्किसकेका छन् भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ ।
बाढी पहिरो प्रभावित क्षेत्रमा रहेका नेपालीको अवस्था, हराइरहेका नेपालीको खोजी तथा उद्धार, घाइतेको उपचार र आवश्यक सहयोगका लागि नेपाली दूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको नेपाली दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया