ताप्लेजुङ, २३ साउन । अन्तर्राष्ट्रिय आमन्त्रणमा तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल भोलिदेखि सुरु हुने भएको छ । पहिलो उद्घाटन खेल स्थानीय तेल्लोक स्पोर्टिङ क्लब र सुनसरीको द योङ ब्रदर्स क्बल इटहरीले खेल्ने भएको छ ।
आयोजक लाखेजात्रा सञ्चालन समितिले भोली उद्घाटन गर्नेप्रतियोगिताको तयारी करिब पूरा भएको जनाएको छ । प्रतियोगिता सञ्चालन हुने भानुजन माध्यमिक विद्यालयको खेल मैदानमै आज दिउँसो पत्रकार सम्मेलन गर्दै समितिले सामान्य कामबाहेक प्रतियोगिताका लागि अन्य सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।
समितिका अध्यक्ष सागर मादेनले प्रतियोगिताको तयारीमा बाँकी रहेका सबै काम आज साँझ सम्ममा सम्पन्न गरिने जानकारी दिनुभयो । भोली दिउँसो २ बजेदेखि सुरु गर्ने खेल प्रत्येक दिन सोही समयमा नै हुने भएको हो ।
यसवर्ष प्रतियोगितामा भारत, सिलगुढीको लेजण्ड फुटबल एकेडेमीसहित चर्च ब्वाइज फुटबल क्लब, पोखराको क्लब पोखरा, रेड स्टार फुटबल क्लब, सिराहाको सलहेश युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब सहभागी हुँदै छन् ।
आयोजक टोलीका रुपमा सहभागी हुने तेल्लोक स्पोर्टिङ र द योङ ब्रदर्स क्लबसमेत आठ टोलीले प्रतिस्पर्धा गर्ने समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो । यसवर्ष प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ ।
उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ राशिको नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिता उत्कृष्ट छनोट हुने खेलाडीले १५० सीसीको यमाहा कम्पनीको मोटरसाइकल पनि प्राप्त गर्ने छन् । हरेक वर्ष लाखेजात्रा पर्वको अवसरमा प्रतियोगिता आयोजना गर्ने यस प्रतियोगिता साउन ३१ गते सम्पन्न हुनेछ ।
प्रतिक्रिया