आउने संसद् अधिवेशन नयाँ संसद् भवनबाटै

काठमाडौं, २३ साउन । आउने संसद्को अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिइएको छ । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको काम समयमै सक्न निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन पनि दिनुभएको छ ।

साथै उहाँले विगतका कमी कमजोरी दोहोरिन नदिने गरी काम भइरहेको जानकारी पनि दिनुभएको छ । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्नेसम्बन्धी छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।

छलफलका क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले समयमै काम सक्न निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन पनि दिनुभयो । समितिका सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै कार्यवाहक प्रधानमन्त्री सिंहले नयाँ संसद् भवन निर्माणको काममा लापरवाही गर्ने सरोकारवाला निकायको पटक–पटक ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।

थप गरिएको अवधिभित्रै काम सक्ने गरी विश्वसनीय कार्ययोजनाअनुसार अहिले काम भइरहेको र सो कार्यको मन्त्रालय तथा विभागबाट अनुगमन भइरहेको उहाँले बताउनुभयो ।

‘नयाँ संसद् भवनको काम समयमै नसकिएको बारेमा सबै जानकार छौं । तोकिएको समयमा काम नगर्नेमाथि मन्त्रालयले कडाइ गरिरहेको छ र काम भइरहेको छ । संसद् भवनको काम पनि कार्यतालिका बनाएर अघि बढेको छ । सरकारले विगतका कमी, कमजोरीलाई नियालेर उक्त कमजोरी अब दोहोरिन नदिने गरी काम गरिररहेको छ,’ उहाँले भन्नुभयो ।

काम समयमै सक्न मन्त्रालयदेखि सम्बन्धित इञ्जिनीयर, महानिर्देशक र आयोजना प्रमुखलाई बोलाएर निर्देशन दिइसकेको कार्यवाहक प्रधानमन्त्री सिंहले बताउनुभयो । मन्त्रालयका सचिव गोपाल सिग्देलले गत वर्ष पुस दोस्रो साता सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर काम भइरहेको जानकारी दिनुभयो ।

आउने अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने गरी काम भइरहेको उल्लेख गर्दै उहाँले तालिकाअनुसार काम अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । समितिका सदस्यहरुले आउने अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्ने गरी काम सक्नुपर्नेमा जोड दिनुभयो।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार  १७ : ४४  बजे