मध्यबिन्दु, २३ साउन । बुटवल–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड अवरुद्ध भएको हो ।
दाउन्नेको पैंसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । लगातारको वर्षाले गत सोमबार बिहानदेखि अवरुद्ध भएको दाउन्ने खण्ड केही समय सञ्चालन हुँदै पुनः अवरुद्ध हुने गरेको छ ।
आज बिहानदेखि सडक पुनः अवरुद्ध भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो । ‘हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा ट्रकहरू फसेर समस्या हुने गरेको छ’, उहाँले भन्नुभयो,‘पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले धेरै समस्या हुने गरेको छ ।’
दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ ।
बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।
प्रतिक्रिया