काठमाडौं, २२ साउन । मजदुरीका लागी भारत पसेका मधुवन नगरपालिका–६ का एकै परिवारका तीन र सोही पालिका–८ का एक गरेर पाँच नेपाली भारतमा सम्पर्कविहीन भएका छन् ।परिवारका सदस्यले उनीहरु सडक निर्माणको काममा पुगेको र बुधबारदेखि सम्पर्कविहीन भएको बताएका छन् । दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले पनि बर्दियाका ५ जना नेपाली बेपत्ता परेको जानकारी आफूहरुले पाएको बताउनुभएको छ । उत्तराखण्ड राज्यको ग्राम बाकुडाबाट करिब १ किमि दूरीमा पर्ने मधेरा खटौला नजिक आएको पहिरोमा परी उनीहरु पुरिएको हुनसक्ने आशंका गरिएको छ ।
मधुवन नपा–६ का स्थानीय उद्धव खड्काले ३९ वर्षीय भतिज नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र छोरा २ वर्षीय रोमन बेपत्ता भएको बताउनुभयो । नरेन्द्रका परिवारका एक सदस्यले छोरा बेपत्ता भएको जानकारी पाएपछि बिहीबार बिहानै नातेदार नन्दबहादुर थापासँग बाबु चुणामणि गढवालतर्फ गएको बताउनुभयो । मधुवन–५ का गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता पनि मंगलबारपछि सम्पर्कविहीन हुनुहुन्छ । अमृताकी छोरा बुहारी विमला राजीले सासु आमासँग सम्पर्क हुन नसकेको बताउनुभयो। स्थानीयहरुलाई भारतमा रोजगारी खोज्न सहयोग गर्ने चित्रबहादुर पौडेल पनि घटनाका बेला पौडी गढवालमै हुनुहुन्थ्यो । घटनाका बेला शौच गर्न आफू जोगीएको पौडेलले बताउनुभयो । उहाँले घटनामा मधुवन–८ कि लक्ष्मी परियार र सोही पालिका–७ का भूपेन्द्र खत्री घाइते भएको र उनीहरुको उपचार गर्न हल्द्वानीस्थित सुशीला तिवारी अस्पतालमा उपचार भइरहेको बताउनुभयो । उहाँले आफूले पटक–पटक गरी तीन समूहमा बर्दियाका ७३ जनालाई कामदारका रुपमा त्यहाँ लगेको र ५ जनाबाहेक सबै सम्पर्कमा रहेको बताउनुभयो । भारतीय अधिकारीबाट उक्त घटनामा थर र ठेगाना नखुलेका २१, १९ र २३ वर्षका तीन नेपाली घाइते भएको सूचना दिल्लीस्थित नेपाली दूतावासले पनि पाएको छ । कन्सुलर मल्लले घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको सूचना आफूले पाएको बताउनुभयो ।
प्रतिक्रिया