शिक्षा विधेयक पारित गर्न व्यवस्था परिवर्तन गर्नु पर्दैन – प्रचण्ड

काठमाडौं, २२ साउन ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक पारित गर्न र उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अहिलेको व्यवस्था परिवर्तन गर्न नपर्ने टिप्पणी गर्नुभएको छ ।

काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न र उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गर्नुभयो । यी दुई काम सरकारले गरे शिक्षाको क्षेत्रमा सरकारले काम गरेको ठहर हुने उहाँको जिकिर छ । उहाँले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने ध्येयबाटै अहिलेको विद्यालय शिक्षा ऐन आएको दाबी पनि गर्नुभयो ।

अध्यक्ष प्रचण्डले शिक्षामा निजीकरणको प्रक्रियालाई नियन्त्रण गर्ने र सार्वजनिक शिक्षालाई गुाण्स्तरीय बनाउने गरी शिक्षा विधेयक ल्याउन लागेको भए पनि ठूला दलहरु निजीकरणलाई नियन्त्रण गर्नेकुरामा नरहेको भन्दै यो बिडम्बनापूर्ण भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरुले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने भन्दै केन्द्रीय समितिको बैठकपछि आफूले माओवादी केन्द्रको नेतृत्वमा भएका एक सय २३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरुको काठमाण्डौमा भेला गरेर आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमै अध्ययनका लागि पठाउने व्यवस्था गर्न निर्देशन दिइसकेको बताउनुभयो ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार  १८ : १९  बजे