भीम र सुस्मिता आईटीएफ वर्ष खेलाडी

काठमाडौं, २२ साउन । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आईटीएफ) ले भीमबहादुर तामाङ र सुस्मिता थापामगरलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड–२०८१ बाट सम्मान गरेको छ । पुरुषमा भीम तथा महिलामा सुस्मिताले वर्ष उत्कृष्ट खेलाडी अवार्ड पाउनुभएको हो ।

भीमले २४औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जित्नुभएको थियो । यस्तै सुस्मिताले दुई स्वर्ण जित्नुभएको थियो । महासङ्घले आफ्नो २८औं वार्षिकोत्सवमा वर्ष खेलाडीसहित वर्ष उत्कृष्ट प्रशिक्षक, प्रदेश र जिल्ला सङघलाई पनि सम्मान गरेको थियो ।

प्रशिक्षकमा आकाशचन्द्र घर्तीमगर, प्रदेश सङ्घमा गण्डकी र जिल्ला सङ्घमा गुल्मी उत्कृष्ट चुनियो । सोही अवसरमा गत अगष्ट १९ देखि २६ तारिखसम्म भारतमा भएको १०औँ एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका स्वर्ण विजेता किशोर श्रेष्ठ र राजमन्दिर श्रेष्ठ तथा रजत विजेता चन्द्रबहादुर तामाङलाई पनि सम्मान गरियो ।

खेलाडी, प्रशिक्षक र सङ्घहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष ध्रुव आचार्य, आईटीएफका अध्यक्ष प्रवीणकुमार कार्की, महासचिव घमबहादुर थापालगायतले सम्मान गर्नुभयो ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार  १५ : ३६  बजे