हेटौंडा, २१ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई निष्पक्षताका साथ जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज बिहान नेपाली कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले जनतालाई न्याय, शान्ति र विकास दिन आफू र आफ्नो मन्त्रिमण्डल पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री बानियाँले भन्नुभयो,‘राजनीति सेवा र धर्म हो, राजनीति व्यापार हैन, व्यापारमा नाफा नोक्सान हुन्छ, तर, राजनीतिमा न्याय हुन्छ, हामीले जनतालाई न्याय दिन, शान्ति दिन, विकास दिनका लागि राजनीति गरेको हो ।’
नेपाली कांग्रेस बागमती प्रदेशले प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित पार्टीबाट मन्त्री बनेकाहरूलाई स्वागत गरेको हो ।
मुख्यमन्त्री बानियाँसहित खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ र बिना विभागीय मन्त्री शिवराज अधिकारीलाई स्वागत, सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिक्रिया