विराटनगर, २१ साउन । प्रहरीले नक्कली नोटसहित सुनसरीको कोशी गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक हजार रुपियाँ दरका ३८ थान नक्कली नोटसहित कोशी गाउँपालिका–८ बाट २५ वर्षे राजेश चमार रजक र राजेशकुमार रजकलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना सप्तरी जिल्ला हनुमान कंकालिनी गाउँपालिका एक घर भएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
लु ९२ प २३८० नम्बरको मोटरसाइकल उनीहरुलाई सुनसरी भाण्टाबारीबाट खटिएको प्रहरीले चोकजाँच गर्दा गएराति पक्राउ गरेको जनाएको छ । मोटरसाइकलमा सवार दुई जनामध्ये पछाडि बसेका राजेशको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।
बरामद भएको नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ । उनीहरूमाथि अनुसन्धान गरेर नक्कली नोटको कारोबारमा संलग्न अन्य व्यक्तिबारे खोजतलास भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि सुनसरीमा पटकपटक ठुलो परिमाणमा नक्कली नोट बरामद भए पनि प्रहरी मुख्य गिरोहसम्म पुग्न सकेको छैन ।
प्रतिक्रिया