आज श्रावणको तेस्रो सोमबार

काठमाडौं, १९ साउन । साउनको तेस्रो सोमबार आज बिहानैदेखि पशुपति लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ ।  पशुपति क्षेत्रमा हजारौं भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन । पशुपतिनाथमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर अर्पण गर्ने बोलबम यात्रीको पनि आज भीड लागेको छ । बोलबम यात्री शुद्ध जल लिने आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । साउन महिनामा भगवान शिवको आराधना र पूजा गर्ने महिनाको रुपमा चिनिन्छ । धेरै महिलाहरु साउनमा उपवास पनि बस्ने गर्छन् । साउन महिनाको अर्को आकर्षण हो, बोलबम यात्रा । शिवभक्त हिन्दू धर्माबलम्बीहरु पहेलो पोशाक लगाएर खाली खुट्टा लामो बाटो पैदल हिडेर बोलबम यात्रा गर्छन् । साउन महिनाको सोमबार अझै विशेष मानिन्छ । तराईका विभिन्न जिल्लाबाट खाली खुट्टा बोलबम यात्रा गरेर आएका तिर्थयात्रीहरु साउने सोमवारको विहानै सुन्दरीजल पुगेका छन् । त्यहाँको जल बोकेर पशुपतिमा जाने परम्परा छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार  ०७ : २६  बजे