श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

मकवानपुर, १७ साउन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ परेका छन् ।बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिलाई आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।घरमा कोही नभएको मौका छोपी घाँटी थिचेर श्रीमती दुर्गालक्ष्मीको हत्या गरेको आरोपमा मानबहादुरलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

पक्राउ परेका मानबहादुरले श्रीमती पक्षघातको बिरामी भई हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकाले आफू तनावमा आई घाँटी थिची हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । त्यसपछि आफू झुन्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि प्रहरीको सम्पर्कमा आएको उनले बयान दिएका छन् । दुर्गालक्ष्मीको शव परीक्षणका निम्ति हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार  १६ : २९  बजे