काठमाडौं,१६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो उत्पादन बढाउनुपर्नेमा जोड दिनुभएको छ। कोदो दिवसको अवसरमा शुभकामना दिँदै उहाँले सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको जानकारी दिनुभयो । कोदो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व रहेको उहाँको भनाई छ। ‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ। ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ। सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ।’ फेसबुकमार्फत उहाँले लेख्नुभएको छ, ‘कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरु उपभोग गरौं’
सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउँदैछ। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो ।
देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने बताइएको छ।
21
Shares








प्रतिक्रिया