काठमाडौं, १५ साउन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ । नागरिक उन्मुक्ति पार्टीले असार १९ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले बिहीबार दोस्रो पटक विश्वासको मत लिनुभएको हो । उहाँले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीको समेत १ गरी ३० मत पाउनुभएको छ। नाउपाका ६ जना प्रदेश सभा सदस्य भने अनुपस्थित थिए। एक जना कैलाश चौधरी उपस्थित भएकोमा उनले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नुभयो । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ प्रदेश सभा सदस्यको बहुमत आवश्यक पर्छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले भने विपक्षमा मतदान गरे। सुदूरपश्चिम प्रदेश सभामा अहिले ५२ जना प्रदेश सभा सदस्य छन्। समाजवादीका दीर्घबहादुर सोडारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि उनको पद निलम्बनमा छ। प्रदेश सभामा नेपाली काग्रेसका १८, एमालेका उपसभामुखसहित ११, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन्।
0
Shares
प्रतिक्रिया