मकवानपुर, १४ साउन । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । आज सम्पन्न चुनावमा मुख्यमन्त्रीसमेत रहनुभएका बहादुरसिंह लामालाई ८ मतको अन्तरले पछि पार्दै बानियाँ विजयी हुनुभएको हो ।
मतगणना अनुसार बानियाँले २२ मत प्राप्त गर्दा लामा १४ मतमा सीमित रहनुभएको । यस्तै एक मत बदर भएको छ। कुल ३७ जना कांग्रेस सांसदहरूले मतदानमा भाग लिएका थिए । यसअघि पनि लामा र बानियाँबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको थियो। त्यस बेला लामा २१ मत ल्याएर विजयी हुनुभएको थियो भने बानियाँ १६ मतमै रोकिनुभएको थियो । बानियाँ र लामाले संसदीय दलको नेतामा दोस्रो पटक प्रतिस्पर्धा गर्नुभएको हो । प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो पटक २०७९ साल पुस १३ गतेको संसदीय दलको चुनाव हार्नुभएका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याउनुभयो ।
संसदीय दलको नेतृत्वको यो परिवर्तनले बागमती प्रदेशको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याउने अनुमान छ ।
प्रतिक्रिया