मकवानपुर, १४ साउन । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको रिक्त नेता पदका लागि प्रदेश सभा सदस्यद्वय बहादुर सिंह लामा तामाङ र इन्द्रबहादुर बानियाँको उम्मेदवारी मनोनयन दर्ताभएको छ । संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदै छ ।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मंगलबार भएको हस्ताक्षरसहितको मतविभाजनमा अविश्वासको प्रस्ताव बहुमतले पारित भएसँगै संसदीय दलको नेताको पद रिक्त भएको थियो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका लामा र कांग्रेस बागमती प्रदेश समितिका सभापति बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुनुहुन्छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार संसदीय दलको नेताका लागि आज दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।
उम्मेदवारी मनोनयन दर्तापछि दावी विरोध बिहान ११ः३० बजेदेखि ११ः३० बजेसम्म, उम्मेदवारको नाम फिर्ता दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रशासन दिउँसो १ः०० बजेदेखि रहेको निर्वाचन तालिका रहेको थियो । यसअघि कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले निर्वाचन समिति बनाउने निर्णय गरेको थियो ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ प्रदेश सभा सदस्य रहेका छन् । संसदीय दलको नेतामा एक भन्दा बढी उम्मेदवार भएमा गोप्य मदतानबाट नेता निर्वाचत गर्ने व्यवस्था कांग्रेस संसदीय दलको विधानमा रहेको छ । नेता निर्वाचन हुन ५० प्रतिशतभन्दा बढी सदस्यको मत प्राप्त गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया