काठमाडौं, १४ साउन । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भोटेकोशीको बाढीले नदी तटीय क्षेत्र र त्रिशुली नदी किनारको क्षेत्रमा जोखिम छ । धादिङ्गतर्फ गल्छी गाउँपालिका क्षेत्र हुँदै बग्ने त्रिशूली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार गएराति नै रसुवाको जोखिम क्षेत्रका बासिन्दालाई सूचित गरी कतिपयलाई अहिले सुरक्षित ठाउँमा राखिएको छ ।
नदीमा जलसतह कम नभएकाले सतर्कता अपनाउन भनिएको हो । आवश्यक परे उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
यसअघि गएको असार २४ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा ठूलो क्षति भएको थियो ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार चीनतर्फ ठूलो पानी परेर बाढी आयो या अघिल्लो पटक जस्तो हिमनदी फुट्यो यकिन हुन सकेको छैन ।
भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक फेरी विच्छेद भएको छ । त्यस्तै केही पुल र क्याम्प पनि बगाएको जानकारी आएको छ ।
प्रतिक्रिया