अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’

काठमाडौं, १३ साउन । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज ५–० ले ‘क्लिन स्वीप’ गर्दै ऐतिहासिक सफलता हात पारेको छ । सोमबार सेन्ट किट्सको बासेटेर्रेमा सम्पन्न अन्तिम खेलमा अस्ट्रेलियाले ३ विकेटको रोमाञ्चक जित निकाल्दै पाँचौं जित दर्ता गरेको हो ।

बेन ड्वार्सहुइसको उत्कृष्ट बलिङ प्रदर्शनले अस्ट्रेलियालाई जिततर्फ डोर्याएको थियो । वेस्ट इन्डिजले दिएको १७१ रनको लक्ष्य अस्ट्रेलियाले १८ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका लागि मिचेल ओवेनले १७ बलमा ३७ रन बनाउँदै सर्वाधिक स्कोर गरे ।

त्यस्तै, क्यामरुन ग्रिनले ३२, टिम डेभिडले ३० र एरन हार्डीले अविजित २८ रनको योगदान दिए । अस्ट्रेलियाली पुरुष टोलीले वेस्ट इन्डिजको भूमिमा पहिलोपल्ट सिरिजमा ५–० को जित दर्ता गरेको हो । कप्तान मिचेल मार्शले भन्नुभयो,‘सिरिजको सुरुआतमा ५–० को अपेक्षा गरेका थिएनौं, तर टोलीले उत्कृष्ट प्रदर्शन गर्यो । चौथो खेलपछि नै हामीले क्लिन स्वीप गर्ने योजना बनाएका थियौं ।’

मार्शले थप्नुभयो,‘हामीले यात्रा अघि नै लचिलो योजना बनाएका थियौं । टी–२० क्रिकेटमा अहिले सबै टोलीहरू आक्रामक बनेका छन् र यो निकै रोमाञ्चक छ ।’ वेस्ट इन्डिजका समर्थकहरू निराश बने । विशेषगरी अस्ट्रेलियाले पाँचौं पटक टस जित्दै पहिला बलिङ रोजेपछि ।

वेस्ट इन्डिजले निर्धारित २० ओभरमा १७० रन बनाएको थियो, जसमा शिमरोन हेटमायरको ३१ बलमा ५२ रन मुख्य आकर्षण बन्यो ।

ड्वार्सहुइसले हेटमायरसहित ओपनर ब्रान्डन किंग (११) र शाई होप (९) का विकेट लिएका थिए । म्यान अफ द म्याच घोषित ड्वार्सहुइसले भन्नुभयो,‘पिच अलिकति ढिलो थियो, त्यसैले हामीले विकेटमा बल हान्ने र स्लोअर डेलिभरी प्रयोग गर्ने रणनीति अपनायौं । यो चुनौतीपूर्ण वातावरणमा टोलीसँग जित हात पार्न पाउनु अविश्वसनीय अनुभव रह्यो ।’

अब अस्ट्रेलिया दक्षिण अफ्रिकासँगको एकदिवसीय तथा टी–२० सिरिजका लागि स्वदेश फर्किनेछ भने वेस्ट इन्डिजले पाकिस्तानसँग तीन टी–२० र तीन एकदिवसीय खेल्ने तालिका छ ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार  १४ : ५७  बजे